२० पुष, काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ ।

नेकपाको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठकको मिति सार्ने निर्णय गरेको नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि जारी पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षपछि नेकपाको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक डाकेको थियो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहनेछ । विधानको प्रस्तावनामा परिवर्तनलगायत सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने विषय स्थायी कमिटीले अनुमोदन गरेको थियो । रासस