५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले नेकपाका स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि आइतवार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटाकै नाममा सहमति जुटाएका थिए। यसअघिकै सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन भनिसकेको छ ।

सत्तारुढ नेकपाले प्रतिनिधि सभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थागित हुँदै आएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएसँगै सभामुख पद रिक्त थियो । यसअघि सभामुखमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ–आफ्नो अडानले सभामुख चयन गर्न सकिएको थिएन ।

प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा थिए । यता, उसभामुख डा. शिवमाया तुम्बाहाङफेले पनि सभामुखको दाबी गरिहेकी थिइन् । सभामुख चयन हुन नसक्दा पुस ४ गते हिउँदे अधिवेशन शुरु भएपछि प्रतिनिधि सभाको बैठक तीन पटकसम्म सूचना टाँस गरेर स्थगित भइसकेको छ ।