२९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विवादित विषयमा नेताहरुबीच सहमति हुन नसकेपछि स्थगित गरिएको हो ।

स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व विषयमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले बैठक भोलीका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सोमबार सिंगापुरमा उपचार गराएर फर्केपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरुसँग छलफल गरेका थिए ।

विशेषगरी ३३ वटा विभागमध्ये स्कूल विभागमा शीर्ष नेताहरुकै दाबी भएपछि समस्या भएको हो । स्कूल विभागमा प्रवक्ता श्रेष्ठ, सचिवालय सदस्यहरु झलनाथ खनाल, इश्वर पोख्रेल, नेताहरु घनश्याम भुषाल, बेदुराम भुषाललगायतले नेतृत्व दाबी गरेका छन् । मंगलबार नेताहरुसँगको छलफलमा सहमति नजुटेकाले बैठक सर्ने संकेत देखिएको थियो ।

यद्यपी बैठक मंगलबारकै लागि बोलाइएकाले छलफल बाँकी रहेको भन्दै बुधबार सारिएको थियो । मजदुर, युवा र महिला विभागबारे पनि कुरा मिल्न बाँकी छ ।