३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आजका लागि सकिएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आज १२ जना सदस्यहरुले आफ्नो धाराणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेकाे बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र विधान संसोधनका विषयमा बोलेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज स्थायी कमिटी सदस्यहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, योगेश भट्टराई, छविलाल विश्वकर्मा, अग्नी सापकोटा, देव गुरुङ, पम्फा भुषाल, देबेन्द्र पौडेल र गणेश साहले बोलेका छन् ।

बैठकमा बोल्ने सबै सदस्यले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनको समर्थन गरेका प्रवक्ता श्रेष्ठले बताए । केही छुटेका सुझाव र आलोचनात्मक टिप्पणी पनि सदस्यहरुले राखेको उनको भनाई छ । बैठक भोली विहान ११ बजे फेरि बस्ने नेकपाले जनाएको छ ।