२९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

विहान बालुवाटारमा भएको सचिवालय बैठकमा सहभागी भएका प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने स्थायी कमिटीको बैठकमा सहभागी छैनन् । एपेण्डिसाइटिसको अप्रेशनपछि आराम गरिरहेका प्रधानमन्त्री ओली पछिल्लो समय बालुवाटार छाडेर बाहिरिएका छैनन् । केही समय अघि साग खेलकुदका पदक बिजेता खेलाडीलाई पनि बालुवाटार नै बोलाएर उनले बधाई दिँदै पुरस्कार रकम घोषणा गरेका थिए ।

स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । प्रचण्डको प्रतिवेदनका साथै विधान संसोधन, केन्द्रीय कमिटीको बैठक, भारतसँगको सिमा विवादलगायतका विषयमा छलफल हुने कार्यसूची छ । विहान बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकका एजेण्डा तय गरेको हो । बैठक भोलीसम्म सक्ने तयारी गरिएपनि सदस्यहरुले बोल्ने क्रम नसकिएमा लम्बिन पनि सक्ने नेकपाले जनाएको छ ।