१४ भदौ, जनकपुर । चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन् ।

झाडु, कुचो, चप्पल र कालो झन्डासहित विरोधमा उत्रेका राजपाका कार्यकर्ता एमालेको कार्यक्रम बिथोल्न अगाडि सरेपछि प्रहरी–प्रदर्शनकारीबीच पटकपटक झडप भएको थियो । झडपमा राजपाका १८ जना कार्यकर्ता घाइते भएका राजपाका धनुषा अध्यक्ष मण्डलका संयोजक सञ्जय सिंहले बताए । संविधान संशोधनको मुद्दामा एमाले प्रमुख बाधक रहेकाले उसलाई मधेसमा भोट माग्ने अधिकार नरहेको सिंहको भनाइ छ । ‘मधेसको मुद्दामा विपक्षमा उभिएकाले एमाले नेतालाई मधेस प्रवेशमा अवरोध गरिरहन्छौं,’ उनले भने । आजको नागरिकमा खबर छ ।

बाहिर राजपा कार्यकर्ताले विरोध प्रदर्शन गरिरहँदा एमाले नेता नेपालले पिडारी चोकस्थित एक पार्टी प्यालेसभित्र कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेविरुद्ध मधेसमा भ्रम फैलाउने काम भएको बताए । ‘दुनियाँकै सर्वोत्कृष्ट संविधानलाई जबरजस्ती अपमान गर्न पाइँदैन,’ नेपालले भने, ‘मधेसको विपक्षमा भएको भए सबैभन्दा बढी मधेसी एमाले, कांग्रेस र माओवादीमा छ, उनीहरुले संविधान मान्न नसकिने कहाँ भनेका छन् ?’ नेपालले मुलुकको हितविपरीत कुनै पनि संशोधन एमालेलाई मान्य हुने अडान दोहो¥याउँदै राजपालाई चुनाव जितेर संशोधनसम्बन्धी मुद्दाको सामना गर्न चुनौती दिए ।

कार्यक्रम स्थलमा जाने क्रममा राजपा कार्यकर्ताको कडा विरोधको सामना बेहोर्नुपरेपछि नेपाल आक्रोसित देखिन्थे । प्रहरीले बल प्रयोग गरे पनि प्रदर्शनकारीले बाटो नछाडेपछि एमाले नेता गोकर्ण बिष्टलाई प्रहरी भ्यानमा राखेर बाहिर निकालिएको थियो । माधव नेपाललाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन भ्यानबीचमा राख्नुपरेको थियो । कडा सुरक्षाबीच प्रदर्शनकारीले नेता चढेको गाडीमा चप्पल र कुचो प्रहार गरेका थिए ।