३० भदौ, काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्लज गर्दा विमान ढल्किएको जानकारी गराएको छ ।

सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टीकरणमा बुद्ध एयरले भनेको छ, ‘६ः५० बजे मन्त्री एयरपोर्ट आइपुगेपछि उत्तेजित समूहले उहाँलाई घेरे, तर उहाँ चुपचाप विमानमा चढ्नुभयो । उहाँसँगै अन्य यात्रु पनि भित्र पसे । तर, ४–५ मिनेट एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एकै भागमा बढी वजन भएर विमान ढल्किएको थियो,’ विमान कम्पनीले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ ।

तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ । प्रष्टिकरणमा उल्लेख गरिएअनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो । यसमध्ये ६–८ मिनेट हुलहुज्जतले गर्दा र बाँकी मन्त्रीले गर्दा ढिलाई भएको पत्रमा उल्लेख छ। ‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो,’ पत्रमा भनिएको छ ।