Prachanda one१५ फागुन, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सहमतिको दिशामा अगाडि बढेको बताएका छन् ।
मातातीर्थमा आयोजित कार्यक्रममा उनले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न राजनीतिक दलहरू सहमत भएकाले मुलुक राजनीतिक सहमतिको दिशामा अगाडि बढेको बताएका हुन् ।
उनले लामो समयसम्म राजनीतिक सङ्कटको अवस्थाबाट मुलुक अगाडि बढेको भन्दै पछिल्ला दिनमा दलहरू राजनीतिक निकासका लागि तयार हुनुले नेपाली जनतामा आशाको सञ्चार गर्ने बताए ।
मुलुकलाई निर्वाचनमा जानबाट अब कोही कसैले पनि रोक्न नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, “मुलुक अब निर्वाचनको प्रक्रियामा अगाडि बढ्यो यो प्रक्रियालाई कोही कसैले पनि रोक्न सक्दैन ।”
प्रधानन्यायाधीश खिलराज रेग्मीले निर्वाचनका लागि आफू जस्तोसुकै त्याग गर्न र सहयोग गर्न तयार रहेको दलहरूको बैठकमा प्रतिवद्धता जनाएकाले मुलुकले राजनीतिक निकास पाएको बताएको समेत उनले जानकारी दिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले दलहरूबीच रहेको अविश्वास र आशङ्कालाई हल गर्न पछिल्ला दिनमा भएको छलफल र सम्वादले धेरै हदसम्म सहयोग पुर्‍याएको बताउँदै नेपाली जनताले निर्वाचन मार्फ आफ्नो भाग्य र भविष्यको फैसला गर्नेछन् भने ।
नेपाली जनताले गर्ने फैसला आफ्नो पार्टीलाई स्वीकार्य भएको चर्चा गर्दै उनले संविधानसभाबाटै नेपाली जनताले संविधान पाउनेमा आफ्नो पार्टी विश्वस्त रहेको बताए ।
अर्को एक फरक प्रसङ्गमा उनले आफू प्रधानमन्त्री बन्न लागेको भनेर गरिएको चर्चाको कुनै तुक नभएको र आफ्नो त्यस्तो कुनै पनि इच्छा नभएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै इच्छा छैन, यस खालको प्रचारको समेत कुनै अर्थ छैन, मुलुकलाई राजनीतिक रूपमा निकास दिएर नेपाली जनतालाई समृद्ध बनाउनु नै यतिबेला आफू र आफ्नो पार्टीको जिम्मेवारी रहेको छ ।’
आफू प्रधानमन्त्री बन्ने भन्दा पनि सहमतीय आधारमा मुलुक अगाडि बढोस् भन्ने नै आफ्नो चाहना भएको र सो चाहना पूरा हुन लागेकोमा उनले खुसी व्यक्त गरे ।
दलहरू सहमत भएकाले तोकिएकै समयमा निर्वाचन हुने र मुलुकले जनताको ताजा जनादेश पाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले विभिन्न विधामा सर्वोत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरेका थिए ।
कार्यक्रम नरनारायण बाबा आश्रमले आयोजना गरेको थियो । रासस