२९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मत्री भट्टराईले अन्तराष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था निकै राम्रो रहेकाले अब उडानमा रोक लगाईरहनुपर्ने आवश्यकता नरहेको बताउनुभएको हो । उडानमा लगाईएको रोक फुकुवा गराउने सम्बन्धमा आफुले छलफल र वार्ता गरिरहेको भन्दै उहाँले छिट्टै युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड विश्वमा सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६ दशमलब ५ प्रतिशत रहेकाले अब उडानमा रोक लगाउनुपर्ने कुनै औचित्य नरहेको बताउनुभयो ।

ईयुले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउदै आएको छ । मन्त्री भट्टराईले हालै मात्रै हिमालयन एयरलाईन्सलाई चाईनाका थप गन्तव्यका लागि र श्री एयरलार्ई दिल्ली, कोलकोत्ता, अहमदावाद र ढाका उडानका लागि अनुमति दिएको जानकारी दिदै सरकार सधै नीजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्याराहरु खोल्न तयार रहेको बताउनुभयो । उहाँले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कका बारेमा मन्त्रालयले छिटै सरोकारवालासंग छलफल गर्ने तयारी गरेको जानकारी पनि दिनुभयो ।

मन्त्री भट्टराईले नेपाल आउने पर्यटकको साथै सबै यात्रुको सम्मान होस् भन्नका लागि सबैमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र र तहका कर्मचारीलाई तालिम दिने तयारी मन्त्रालले गरेको बताउनुभयो ।