१९ कात्तिक, काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन । उनी आफ्नी श्रीमती सुनिता आहुजासहित नेपाल आएका हुन् ।

कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आएका हुन् । उनीसँगै भारतको मुम्बई बस्दै आएकी नायिका निरुता सिंह पनि नेपाल आएकी छन् । महोत्सव आयोजक चलचित्र निर्माता संघको विशेष निमन्त्रणामा आएका गोविन्दाले पुनः नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूहरु पूजापाठको लागि सधैँ आउने गरेको भएता पनि पहिलोपटक चलचित्रसँग सम्बन्धित कार्यक्रमको लागि नेपाल आएको बताए । गोविन्दाले आफूलाई चलचित्रको कार्यक्रममा बोलाएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई धन्यवाद दिएका छन् । उनले आफूले नेपाली फिल्महरु हेरेको भएपनि कुनै पनि चलचित्र पूरै नहेरेको बताए । उनले नेपालमा आएर गुन्द्रुकको झोल र भात खान मन लागेको स्पस्ट पारे ।

पत्रकारहरुसँगको कुराकानीमा नायिका निरुता सिंहले आफूले पनि गोविन्दालाई पहिलोपटक भेटेको बताइन् । उनले त्यही गोविन्दाको ‘मे तो भेलपुरी खा रहा था’ बोलको गीत समेत गाइन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरी सुरु हुने महोत्सव २१ गतेदेखि तीन दिनसम्म चल्ने छ । महोत्सवमा सहभागी हुनको लागि गोविन्दा सहितको टीम भोलि वीरगञ्ज जानेछ ।

यसअघि गोविन्दा गत वर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता नेपाली मूलकी भएकाले गोविन्दाले नेपाललाई ससुराली देश भन्दै खुसी व्यक्त गर्ने गरेका छन् । सुनिताको आमा काठमाडौंको साँखुकी हुन् ।