७ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको बताएका छन् ।

अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल–चीनबीचको सहकार्य बढ्दै गएको बताएका हुन् ।

“चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएको छैनन्, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएको छ, यसलाई निरन्तरता दिनुपर्छ,” उनले भने । उनले चीनले नेपालको विकासका लागि गरेको कामको उच्च प्रशंसा गरे ।

गृहमन्त्री थापाले तीन महिना अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताए । उनले चीनमा पढेर नेपाल फर्केका विद्यार्थीबाट स्थापना गरिएको अरनिको समाज नेपालले नेपाल चीन सम्बन्धलाई झन नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन–नेपाल सम्बन्ध धेरै पुरानो भएको बताउँदै आउँदो दिनमा उक्त सम्बन्धलाई निरन्तरता दिने बताए । नेपालको विकासका लागि चीनको सधैँ साथ र सहयोग रहने उहाँको भनाइ थियो । रासस