२७ असाेज, काठमाडाैं । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण प्राप्त भएको छ ।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीले दुई वटा समझदारीपत्र, एक सम्झौता र अर्को एक सन्धिमा हस्ताक्षर गरी ती दस्तावेज आदानप्रदान गरेका थिए । परराष्ट्रमन्त्रीस्तरमा सीमा व्यवस्थापन प्रणाली सम्झौता, शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानसम्बन्धी समझदारीपत्र, आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानूनी सहायता सन्धि र सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष एवं चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष ही लेफङले दुई मुलुकका योजना आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा चीनको यातायात मन्त्रालयका तर्फबाट नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरे ।

काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ कम्युनिस्ट पार्टीको झाङसु प्रान्तीय स्थायी कमिटी सदस्य तथा सोही पार्टीको नान्जिन नगर कमिटिका सचिव झाङ जिङह्वाले हस्ताक्षर गरे । बुटवल उपमहानगरपालिका र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र सियान नगरप्रमुख ली म्युङवानले दस्तखत गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बराल र नेपालका लागि चिनियाँ राजदूत हउले हस्ताक्षर गरे। गृह मन्त्रालय र चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयबीच दैवीविपत्ति न्यूनीकरण तथा आपतकालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्रमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र चिनियाँ राजदूत हउले हस्ताक्षर गरे । दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच पनि सहकार्य र साझेदारी गर्ने समझदारी भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा महान्यायाधिवक्ता अग्नि खरेल र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयका प्रमुख झाङ जुनले हस्ताक्षर गरे ।

त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापना गर्नेसम्बन्धी सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल र चिनियाँ राजदूत हउले हस्ताक्षर गरे। कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी (वनस्पति स्वच्छता) को आवश्यकतासम्बन्धी प्रोटोकलमा कृषि विकास तथा पशुपक्षी मन्त्रालयका सचिव डा युवकध्वज जिसी र नेपालका लागि चिनियाँ राजदूत हउले हस्ताक्षर गरेका हुन्। चीनको सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) मा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी र चिनियाँ राजदूत हउले हस्ताक्षर गरे ।

अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको वाणिज्य मन्त्रालयका सचिव यू जीनह्वाले हस्ताक्षर गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र चीनको वाणिज्य मन्त्रालयका सचिव यू जीनह्वाले हस्ताक्षर गरेका थिए । चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकारसम्बन्धी प्रमाणपत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा र चीनका वाणिज्यसचिव यू जीनह्वाले हस्ताक्षर गरे ।

अर्थमन्त्रालय र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा अर्थसचिव खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङ सियाटोले हस्ताक्षर गरे । सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) मा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङले हस्ताक्षर गरे । चिनियाँ सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णयमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङले हस्ताक्षर गरे। रासस