२१ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र माल्दिभ्सबीचको खेल शुरु भएको छ । खेल दिउँसो केहीबेरअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ ।

आफ्नो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको र दोश्रो खेलमा श्रीलंकासँग बराबरी खेलेको नेपाल तेश्रो खेलमा माल्दिभ्सलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ । उता माल्दिभ्स पनि आफूभन्दा १५ स्थान तल रहेको नेपाललाई पराजित गर्न उच्च मनोबलका साथ खेल जित्न चाहन्छ ।

फिफाको पछिल्लो बरियता क्रममा नेपाल १ सय ७० औँ स्थानमा रहँदा माल्दिभ्स भने १ सय ५५ औँ स्थानमा छ । अरु खेलहरुमा कमजोर मानिएको माल्दिभ्स तुलनात्मक रुपमा नेपालभन्दा बलियो टीम हो । उसो त नेपालमै खेल भएकोले नेपाली फुटबल टीमलाई घरेलु दर्शकको साथले केही हौसला भने अवश्य प्राप्त हुनेछ ।

राउण्ड रोबिन लिगका आधारमा खेलाइएको खेलमा भुटान तीन खेलमध्ये दुईमा जित निकाल्दै अंकतालिकाको शिर्ष स्थानमा रहँदा दुई खेलबाट ४ अंक बटुलेको नेपाल गोल अन्तरका कारण दोश्रो स्थानमा छ । यस्तै तीन खेलबाट २ अंकमात्र पाएको माल्दिभ्स अंक तालिकाको चौथो स्थानमा छ ।

पाँच राष्ट्र सम्मिलित खेलमा माल्दिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने र बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै माल्दिभ्स भुटानसँग भने २–१ गोलअन्तरले पराजित भएको थियो ।

१३ औँ दक्षिण एसियाली खेलमा भुटाविरुद्ध प्रतिस्पर्धा गर्दै माल्दिभ्सका खेलाडीहरु फिफा बरियतामा १५ स्थानमा माथि रहेको भएता पनि माल्दिभ्सले १३औँ सागमा राम्रो प्रर्दशन गर्न सकिरहेको छैन । उसले फिफा बरियतामा आफूभन्दा २४ स्थान तल रहेको भुटानसँग १–० गोलअन्तरले पराजित हुनुले पनि यो कुरा पुष्टि गर्छ । यस्तै आफूभन्दा २२ स्थान तल रहेको बंगलादेशसँग १–१ र ५० स्थान तल रहेको श्रीलंकासँग गोलरहित बराबरी खेल्नुले पनि सागमा माल्दिभ्सको प्रदर्शन मुल्याङ्कन गर्न सकिन्छ ।