१५ असोज,काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृखंलामा नेपाल र सिंगापुरको खेल वर्षाका कारण रोकिएको छ ।

सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुने भनिएपनि पानी परेपछि टस समेत हुन सकेको छैन । आजको खेल जित्नैपर्ने दबाबमा रहेको नेपालका लागि वर्षा बाधक बन्न सक्ने देखिएको छ । खेल हुन नसकेमा दुवै टिमले एक एक अंक बाँड्नेछन् जुन नेपालको हितमा हुनेछैन । सिङ्गापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । श्रृंखला अन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भयो । त्यस्तै सिरिजको दोस्रो खेलमा सिङ्गापुरले जिम्बावेलाई पराजित गरेको थियो ।नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा छ । यसअघि तीन खेल खेलेको नेपालको दुई अङ्क छ । त्यस्तै शीर्ष चार अङ्क जोडेको जिम्बावे शीर्ष स्थानमा छ । आयोजक सिङ्गापुर दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ ।

सिङ्गापुरले अन्तिम खेल भोलि जिम्बावेसँग खेल्नेछ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपाली टोली सिङ्गापुरबाटै सिधै ओमान जानेछ । ओमानमा यही असोज १८ देखि २३ गतेसम्म चल्ने टि ट्वान्टी सिरिजका लागि नेपाली टोली त्यसतर्फ जानेछ ।