१७ भदौ, काठमाडौं । सोमबार हरितालिका तीज देश र नेपालीहरुको बसोबास रहेका देशहरुमा धुमधामसँग मनाइयो । तीज मनाएसँगै सामाजिक सञ्जाल पनि तीजमय बनेको छ । सञ्जालमा महिलाहरुले तीजका तस्बिर र भिडियोहरु राखेका छन् । यस्तै तस्बिर र भिडियो राख्ने क्रममा एक नायिका विवादमा तानिएकी छन् ।

नायिका एवं पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम यतिबेला आफैँले राखेको तस्बिर र भिडियोका कारण आलोचित बनिरहेकी छन् । उनले सोमबार तीजको व्रत तोड्ने क्रममा श्रीमानको गोडाको पानी खाएको भिडियो खिचेर फेसबुकमा राखेकी थिइन् । भिडियोसँगै उनले तीजनका केही तस्बिरहरु पनि राखेकी छन् । भिडियोमा उनले श्रीमान् ऋषि धमलाको गोडाको पानी खाएकी छन् ।

उनले भिडियो र तस्बिर राख्नेबित्तिकै मानिसहरु दुई ध्रुवमा बाँडिए । कसैले एलिजाको कदमको खुलेर आलोचना गरेका छन् भने कतिपयले यो व्यक्तिगत मामला भएकोले धेरैले टिप्पणी गरिरहनुपर्ने विषय नभएको बताए । रातभरी सामाजिक सञ्जालमा धमला जोेडीतको तस्बिर राखी विभिन्न किसिमका टिकाटीप्पणी भएपछि धमला पत्नी एलिजा तस्बिर र भिडियोबारे बोलेकी छन् ।

उनले मंगलबार बिहानै फेसबुकमा एक स्टाटस लेख्दै आफूले सानैदेखि देख्दै आएको परम्परालाई मानेको बताइन् । साथै श्रीमानको गोडा आफ्नो खुशीले ढोगेको भन्दै उनले आफ्नो अधिकारको कुरा भएको उल्लेख गरिन् ।

त्यसको केही समयमा अर्की नायिका पुजना प्रधानले एलिजा र ऋषिको तस्बिर राख्दै ऋषि धमलालाई सामन्ती उपनाम दिएकी छन् । उनले लेखेकी छन्, ‘बाहिर ठूला–ठूला कुरा गर्ने फेसबुकमा भित्ताभरी आदर्शका कुरा लेख्नेहरु प्राय यस्तै मानसिकता छन् । श्रीमती जीवनसाथी हुन् की दास या कमारी हुन्, जनता जान्न चाहन्छ ।’ साथै उनले अन्तिममा ब्राकेटमा लेखेकी छन्, ‘सामन्ती ऋषि धमलाप्रति खेद प्रकट गर्दछु ।’ एलिजाको यो स्टाटस आउनेवित्तिकै पुजनाले आफूले लेखेको अन्तिम लाइन (सामन्ती ऋषि धमलाप्रति खेद प्रकट गर्दछु ।) इटिड गरेर हटाएकी छन् ।

पुजनाको यति लेखेको केही घण्टापछि अर्की नायिका एवं ऋषि धमलाकी पत्नीले अरुलाई किन टाउको दुख्यो टिप्पणी गरेकी छन् । उनले पुजना प्रधानले लेखेको फेसबुक स्टाटसको स्क्रिनसट राख्दै फेसबुकमा लेखेकी छन्, ‘मलाई खुशी लाग्छ मेरो श्रीमानलाई यस्तो गर्न पाउँदा भने अरुलाई किन टाउको दुखाई ?’

तीजको समयमा सबैले आफ्नो श्रीमानको गोडा ढोग्ने र उनीहरुलाई सम्मान गर्ने गर्छन् । अहिलेको स्थितिमा कसैले पनि कसैलाई कर लगाउने स्थिति आउँदैन र छैन पनि । त्यसमाथि पतिलाई कसरी सम्मान गर्ने भन्नेकुरा स्वयं पत्नीमा भर पर्छ । त्यसैले पनि यो विषयलाई उचाल्नुभन्दा पनि एलिजाले आफ्नो पतिलाई कसरी सम्मान गर्छिन् त्यो उनैलाई छाडिदिनु उत्तम हुन्छ की ?