काठमाडौँ, ५ वैशाख । प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौँ जिल्ला अदालतको आदेशमा आज रिहा भएका छन् ।

पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानूनअन्तर्गत पक्राउ परेको भनी नेपाल पत्रकार महासङ्घ र विभिन्न सङ्गठनले विरोध गर्दै आएका थिए । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको थियो ।

सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यही वैशाख २ गते पोखराबाट पक्राउ गरेको थियो । प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानूनी प्रावधान विपरीत पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाइएकामा आपत्ति जनाइएको थियो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले काउन्सिलले गिरीको अनलाइन दर्ता नभएको भनी प्रहरीलाई गलत विवरण दिएका कारण समस्या उत्पन्न भएकामा न्यायालयले न्याय दिएकामा सन्तोष व्यक्त गरे । रासस