२९ म‌सिर, काठमाडाैं । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिए ।

“एक आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, उनले भने। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको ब्यूरोले जनाएको छ । रासस