२ फागुन, काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आगामी सोमबार ढाकातर्फ प्रस्थान गर्ने भएका छन् ।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव र उक्त मन्त्रालयका वरिष्ठ अधिकारीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ अधिकृतहरु रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नेछन् ।

मन्त्री ज्ञवालीले बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा प्रवचन दिनेछन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ । रासस