१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरिरहेको काम र वार्षिक कार्यक्रमको जानकारी गराएका छन् ।

शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठ स्थित निवासमै पुगेर मन्त्री भट्टराईले मन्त्रालयको वार्षिक काम र भ्रमण वर्ष २०२० बारेमा जानकारी गराएका हुन् । फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्, ‘मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ ।’

यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन । मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ ।