१६ भदाै, काठमाडाै‌ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियाे । मन्दिरका चार ढोका आज राति लाम नसकिएसम्म खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा लर्को छ । विसं २०६५ देखि भक्तजनका लागि बन्द गरी जल ल्याउन मात्र उपयोग गरिएको पशुपतिनाथको पूर्वी ढोका आजदेखि सधैँका लागि खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मीसहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएको छ । साना बालबालिकालाई पनि मन्दिरमा नल्याउन पनि कोषले अनुरोध गरेको छ । तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन । सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।

तस्वीरहरु:रासस