६ कात्तिक, काठमाडौं । पशुपति घाट सेवा केन्द्रमा कार्यरत कामदारले आन्दोलन गरेपछि बुधबार विहान एउटै शव जलेनन् ।

शव जलाउने काम गर्ने कामदारहरुले सेवा सुविधा वृद्धिको माग गर्दै शव नजलाउने भन्दै आन्दोलन गरेका थिए । जसका कारण विहानैदेखि घाटमा शव जलेको थिएन । त्यसपछि पशुपति क्षेत्र विकास कोषले वार्ताको पहल गर्यो । दुवै पक्ष वार्तामा बसेपछि सहमति बन्यो र आन्दोलन फिर्ता भयो ।

वार्तामा उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषले जनाएको छ । अब उनीहरुले एउटा शव जलाएको पारिश्रमिक १२ सय रुपैयाँबाट बढाएर १५ सय पुर्याइएको छ । औषधी उपचार खर्च ५ हजारबाट बढाएर १५ हजार रुपैयाँ पुर्याउने सहमति भएको छ ।

उनीहरुको माग अनुसार उपदानबापत पाउने रकम डेढ लाखबाट बढाएर पाँच लाख रुपैयाँ र्पुयाउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । सहमतिसँगै आन्दोलन फिर्ता भएपछि पशुपति घाटमा शव जलाउने कार्य सूचारु भएको छ ।