९ फागुन, काठमाडाैं । नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ ।

शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । हराएका भक्तजनको सुरक्षा एवं विविध मानवीयसेवा पुर्याउने उद्देश्यले सामुदायिक सेवा केन्द्र चावहिललगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरिएको थियो ।

फेला परेकामा आठ जना बालबालिकासमेत छन् । उक्त पोष्ट तथा कक्षमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकद्वारा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको प्रहरीले जनाएको छ । विगतमा भिडमा आफन्त हराएको गुनासो बढेकाले यसपाली व्यवस्थित रुपमा खोजखबर कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ५०० भन्दा बढी सुरक्षाकर्मी खटाएकाले अप्रिय घटना भने हुन नपाएको जनाइएको छ । रासस