१४ भदौ, एजेन्सी । प्रभास र श्रद्धा कपूरको फिल्म साहो शुक्रबारबाट भारतसहित विभिन्न देशहरुमा प्रदर्शनरत छ । ‘बाहुबली २’ पछिको प्रभासको पहिलो फिल्म भएकोले पनि ‘साहो’को लागि दर्शकहरु उत्साहित थिए ।

३ सय ५० करोड भारुको लगानीमा बनेको फिल्मले पहिलोदिन मिश्रित प्रतिक्रिया पाएपनि कमाई भने गज्जबकै गरेको छ । चार भाषामा प्रदर्शन गरिएको फिल्मको ‘ओपनिङ कलेक्सन’ बाहिरिएको छ । ट्रेड एक्सपर्टका अनुसार फिल्मले एकदमै दमदार कलेक्सन गरेको छ ।

फिल्मको तेलूगु भाषामा ३५ करोड, तमिलमा १५ करोड, मलयालममा ३ देखि ५ करोड र हिन्दी भाषामा १० करोड कमाएको छ । यसरी हिसाब गर्दा फिल्मले पहिलो दिन ६० देखि ७० करोडको कमाई गरेको छ । यसका साथै फिल्मले हलिउड फिल्म ‘एम्वेजर्स एंगेम’को भारतीय कमाई (५३ करोड) र आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ (५२.२५ करोड)लाई पनि पहिलो दिनको कमाईमा पछि पारेको छ ।

बाहुबलीको दोश्रो सिरिजमा काम गर्नेवित्तिकै प्रभास अहिले अन्तर्राष्ट्रिय स्टार बनेका छन् । प्रभासको फ्यान नेपालमा पनि प्रशस्तै भेटिन्छन् ।