बाँके, २४ माघ ः करीब सात वर्षअघि रु पाँचबाट शुरु गरेको बचतले राप्तीसोनारीका अधिकांश महिला अहिले उद्यमी बनेका छन् ।

अहिले यहाँ महिला आफ्नै मेहनतमा रु १० लाख बढीको करोवार एक्लै गर्न सफल देखिएका छन् । घरखर्चमा समेत श्रीमान्कै भर पर्नुपर्ने विगतको बाध्यता अहिले अन्त्य भएको छ । अब श्रीमान् श्रीमतिको आम्दानीमा रमाउन थालेका छन् । सहकारीमा आबद्ध भएर बचत गर्न थालेपछि यहाँका महिलाको आर्थिक अवस्थामा सुधार आएको स्थानीय गङ्गा शाह बताउनुहुन्छ ।

उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका महिला आफैँ आत्मनिर्भर भएकैले अहिले परिवार र समाजमा सम्मानित व्यवहार पाइएको छ । घरपरिवारले थाहा पाए गाली पाउने डरले लुकेर जम्मा गरेको रु पाँचले आज सक्षम र आत्मनिर्भर बनाएको राप्तीसोनारीका महिला बताउँछन् ।

आत्मनिर्भर बन्नकै लागि नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा सहभागी भएका यहाँका महिलालाई अहिले घरपरिवारको पनि उत्तिकै सहयोग र साथ रहेको शाहले बताउनुभयो । अहिले उक्त सहकारीमा ९०४ महिला शेयर सदस्य छन् । सबैको शुरुआती अवस्था कमजोर थियो तर अहिले सबै आत्मनिर्भर भइसकेका छन् । बाख्रापालन गरेर सहकारीमा आयस्रोत जुटाएका उनीहरूले अहिले आर्थिकरूपमा परिवारलाई सघाउन सक्षम भएको बताएका छन् । मासिक रु २५ समूहमा बुझाउनु पर्दा श्रीमान्को भर पर्नुपर्ने अवस्थामा रहेकी राप्तीसोनारी–६ की सीता पुनले अहिले आफ्नै कमाइले घरपरिवार चलाएको बताउनुभयो ।

“आम्दानी ठिकै छ, घर खर्चको विषयमा अहिले परिवारको सल्लाह हुने गरेको छ”, उहाँले भन्नुभयो, “सहकारीले नै आत्मनिर्भर र सक्षम बनाएको हो ।” आर्थिक अभावकै कारण सात वर्षअघि श्रीमान्बाट अमानवीय व्यवहार सहनुपरेको बताउँदै शोभा परियारले भन्नुभयो, “अहिले श्रीमान् पनि खुशी हुनुहुन्छ ।” सहकारीको बचतले शोभाको परिवारमा परिर्वतनसँगै खुशी पनि छाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले विदेशमा कमाएर पठाएको पैसा खर्च नगरी आफ्नै कमाइले घरपरिवार चलाउँदा उनीमा एकदमै आनन्द आएको छ । “उहाँको पैसा सकभर खर्च गर्दिनँ”, उहाँले भन्नुभयो, “आफैँले खर्च जुटाउने भएकी छु ।” मासिक रु २०० सहकारीमा बचत गर्दै आउनुभएकी शोभाले अहिले सहकारीमा रहेर रु एक लाख बढीको कारोवार गरिरहनुभएको छ ।

पछिल्लो समय बाँकेमा सहकारीको माध्यमले महिला आफैँ आत्मनिर्भर र सक्षम हुन थालेका छन् । एक लाख ६५ हजार शेयर सदस्यमध्ये ५१ प्रतिशत महिलाको सहभागिता रहेको जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम जैसी बताउनुहुन्छ । सञ्चालनमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

कर्मचारीमा एक हजार ६०० मध्ये ६६ प्रतिशत महिला रहेको उहाँले बताउनुभयो । सहकारीले परिवारमा आर्थिक सहकार्यको वातावरण सिर्जना गर्ने हुँदा घरेलु हिंसा न्यूनीकरणमा समेत टेवा पुगेको उहाँको भनाइ छ ।
––– (रासस)