५ कात्तिक, एजेन्सी । पाकिस्तानले परमाणु आक्रमणको धम्की दिएपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले प्रतिकारका लागि आफूहरु पूर्णरुपमा तयार रहेको जवाफ दिएका छन् ।

पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले भारतीय सेनामाथि कारवाही गर्ने क्रममा आणविक बम प्रहारको धम्की दिएपछि सिंहको यस्तो प्रतिक्रिया आएको हो । नौसेनाका कमाण्डरहरुलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भने, ‘भारत कहिल्यै पनि आक्रामक भएको छैन । हामीले कहिल्यै पनि कुनै देशमाथि आक्रमण गरेका छैनौ न कसैको एक इन्च जमिन नै मिचेका छौं ।’

यदि कसैले आफूहरुमाथि खराब दृष्टिले हेरेको खण्डमा आफ्ना सेना त्यसको जवाफ दिनका लागि पूर्ण रुपमा तयार रहेको उनको भनाई थियो । पछिल्लो समय भारत र पाकिस्तानको बीचमा विवाद गहिरिँदै गएको छ ।