२४ साउन, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको मृत्यु भएको छ । वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो ।

गएको साउन १९ गते आइतबार कोठामा सुतेको अवस्थामा मृत्यु भएको चापाकोट एकता समाज यूएईका अध्यक्ष युवराज घिमिरेले जानकारी दिनुभयो । पाण्डेको शव युएई सरकारको पहलमा प्रक्रियागत रुपमा नेपाल ल्याएर आज कालीगण्डकीको खोरिया घाटमा अन्त्येष्टि गरिएको छ ।

घिमिरेका अनुसार पाण्डे शनिबार बेलुकाको खाना खाएर सुत्नुभएको र भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा मृत्यु भएको आशङ्का भएपछि कम्पनी र प्रहरीलाई खबर गरिएको थियो । हृदयाघातका कारण पाण्डेको मृत्यु भएको अस्पतालले जनाएको छ । पाण्डेका दुई नाबालक छोरा, एक छोरी र श्रीमती छन् ।