२३ भदौ, महोत्तरी ।  अभिभावकको बेवास्ताले महोत्तरीमा पानीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।

सांकेतिक तस्वीर

घरबाट निस्केका आफ्ना छोराछोरीको अभिभावकले राम्रोसँग हेरविचार नगर्दा पोखरीमा डुबेर ती दुई बालकको मृत्यु भएको हो । जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवाराका १२ वर्षीय रोहित साह र बलवा नगरपालिका–७ का चार वर्षीय रुपेश महराको आफ्नै बस्तीको पोखरीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पोखरीमा नुहाउने क्रममा अचानक चिप्लिएर गहिरो ठाउँमा पुग्दा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

महोत्तरीको गौशाला नगरपालिकाको रजखोर बस्तीमा गत शुक्रबार दुई वर्षीया बालिकाको घरमै तसलामा राखिएको पानीमा डुबेर मृत्यु भएको थियो । गत आर्थिक वर्षमा १२ वर्षमुनिका १८ बालबालिकाको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । रासस