२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले नेपाली क्रिकेटको कप्तानबाट राजीनामा दिने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा एककिसिमको तरङ्ग पैदा भएको छ ।

धेरैले पारसको यो कदमलाई अप्रत्यासित भनी टिप्पणी गरेका छन् । कतिपयले भने पारसको निर्णयको सम्मान गर्नुपर्ने बताएका छन् । यसै सन्दर्भमा अर्का लेग स्पिनर सन्दीप लामिछानेले पनि पारसको राजीनामाको घोषणाको सन्दर्भमा मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनीप्रति सम्मान गरेका छन् ।

‘तपाईंको कप्तानीको माध्यमबाट शुरु भएको यात्राले हामी यो स्थानमा पुगेका छौं, त्यो स्थानमा नेपाली क्रिकेट पहिले कहिल्यै पुगेको थिएन । तपाईंले गतवर्ष मसँगै कैयौं युवाहरुलाई खेल्नको लागि प्रेरित गर्दै खेल खेल्नको लागि धेरै उत्प्रेरित गर्नुहुन्थ्यो । तपाईंको भविष्यको लागि पनि शुभकामना । हामी तपाईंले वर्षौँसम्म नेपालको प्रतिनिधित्व गरेको हेर्न चाहन्छौं । तपाईं एक साच्चै लिजेन्ड खेलाडी हुनुहुन्छ । तपाईंले हामी सबैको मनमा ठूलो छाप छोड्नुभएको छ । यहाँ तपाईं क्याप्टेन हुनुहुन्छ ।’

सन्दीप लामिछाने र पारस खड्काबीच केही समय अघि विवाद भएको समाचार मिडियामा आएका थिए । सन्दीपले पारसलाई ट्वीटरमा अनफलो गरेपछि उनीहरुबीच विवाद भएको धेरैले अनुमान गरेका थिए । सन्दीपले यसको खण्डन गरेका थिए भने पारस भने यो विषयमा मौन नै थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन शर्तसहित फुकुवा गरेको थियो । क्यानको निलम्बन र पारसको राजीनामा एकैपटक आउनुलाई धेरैले महत्वका साथ विश्लेषण गरिरहेका छन् ।