१९ मंसिर, काठमाडौं । पाल्पाको तिनहुँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान ११ बजे लु १ ज ४२०९ नम्बरको तिनहुँ गाउँपालिका ५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उनीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

यसअघि दुईदिन अघि बागलुङमा भएको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने महोत्तरीमा दर्शनार्थी बोकेको पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो केही सातादेखि दैनिक सवारी दुर्घटनाको संख्या बढेको छ । एक तथ्याङ्काका अनुसार नेपालमा मात्र दैनिक १० देखि १५ जनाको सवारी दुर्घटनाका कारण ज्यान जाने गरेको छ ।