एउटा सन्तुलित बायोपिकले दर्शकलाई इन्गेज गराउँछ, तर जुन कथाले पात्रको गुणगान मात्र गाउँछ अनि कन्ट्रोभर्सीलाई सफाइ दिन खोज्छ, यदि त्यो पात्रको समर्थक भए रुचाउनुहुन्छ होइन भने लत्याउनुहुन्छ। फिल्म ‘पिएम नरेन्द्र मोदी’लाई लत्याउन निकै सहज छ।

भारतको लोकसभा चुनावको नतिजा लगतै आज रिलिज भएको विवेक ओब्रोय अभिनित नरेन्द्र मोदीको बायोपिक ‘पिएम नरेन्द्र मोदी’ फिल्मको एउटै मात्र सवल पक्ष भनेको मोदीको पार्टीले जितेको चुनाव पश्चातको माहौलमा रिलिज हुन पाउनु हो। अत्याधिक श्रद्धाले भरिएको छ फिल्म।

आमाछोराको मनछुने सम्बन्धको कथा बाहेक फिल्मका अन्य दृश्य अनि प्रसंगले एक राम्रो दर्शकको मन छुन सक्दैन। मोदीको चर्चित गुजरात काण्ड होस् या अन्य कन्ट्रोभर्सी होस् फिल्मले सजिलै अन्यको पोल्टमा हालेर मोदीलाइ सफाइ दिन खोजेको देखिन्छ। फिल्मको पुरै कथावस्तु नै लाजमर्दो तवरले म्यानिपुलेटिभ छ।

मोदीको मिमिक्री भने विवेकले बढो राम्रो ढंगले उतारेका छन्। मोदीको व्यवहार, बोल्ने शैली, टोन आदी ठिक्क छ।

मोदीको राजनैतिक आदर्श कतिको विश्वास गर्नुहुन्छ सो व्यक्तिगत विश्वासको कुरा भयो। तर फिल्म भने पुरै एकतर्फी छ। मोदी आर्दश मान्नेले पक्का मनपराउँछन् होइन भने फिल्मले त्यति न्याय गरेको जस्तो भान हुँदैन।