काठमाडौं, ३० जेठ । काठमाडौंको चावहिलमा रहेको ओम अस्पतालमा पित्तथैलीको पत्थरी अप्रेशन गर्ने क्रममा एक बिरामीको आन्द्रा काटिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपलिका १० की ५० वर्षीया रामप्यारी थापामगर रहेकी छिन् । डाक्टरको चरम लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार तथा आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार बिहीबार अस्पताल पुगेका बिरामीको शुक्रबार अप्रेशन गरिएको थियो । अप्रेशनका क्रममा डाक्टरले लापरवाही गरेकैले बिरामीको मृत्यु भएको श्रेष्ठको आरोप छ ।

तर ओम अस्पतालका निर्देशक डा केपी देवकोटाले भने बिरामीको उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन् । ‘शल्यक्रिया जटिलै हो, ति महिलाको यसअघि पनि तीन पटक पेटको अप्रेशन भइसकेको रहेछ देवकोटाले भने, अप्रेशन गर्ने बेला बिरामीका आफन्तलाई सबै कुरा जानकारी गराएरै गरिएको हो ।’ उनले संक्रमणका कारण बिरामीको मृत्यु भएको बताए ।