१५ मंसिर,बागलुङ नेपाली काँग्रेस बागलुङले जिल्लाका तीन मतदानस्थलमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै उजुरी दर्ता गरेको छ ।

चुनाव सकिएको चार दिनपछि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो । नेपाली काँग्रेसले वामगठबन्धनले ‘बुथ कब्जा’ गरेको आरोप लगाएको छ ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँंयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वामगठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग उजुरीमा गरिएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं १ को प्रदेश (१) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश (२) का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएका हुन् ।

उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा ‘बुथ कब्जा’ भएको उजुरीमा दाबी गरेका छन् । वामगठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना प्रतिनिधिलाई धम्काएर धाँधली गरेकोले पुनः मतदान गराउन उजुरीमा माग गरिएको छ । काँग्रेसका प्रतिनिधिलाई धम्काएको र एकलौटी रुपमा मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए।

उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको उहाँको भनाइ छ । मतदान अधिकृतको प्रतिवेदन र उजुरीलाई आयोगमा पठाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाली काँग्रेस भने एक्लै गठबन्धनसँग प्रतिस्पर्धामा छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वामगठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा  छन् । प्रदेशसभा १ मा नेपाली काँग्रेसबाट दीपेन्द्र थापा र वामगठबन्धनबाट एमालेका इन्द्रलाल सापकोटा चुनावी मैदानमा छन् । प्रदेशसभा २ मा काँग्रेसका प्रकाश शर्मा पौडेल र वामगठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चा कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन् ।

यही मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणना कार्य शुरु हुने जनाइएको छ । गत आइतबार भएको पहिलोचरणको चुनावमा बागलुङमा ६५ प्रतिशत मत खसेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा राखिएका मतपेटिकालाई कडा सुरक्षा घेरामा राखिएको छ  । रासस