४ पुस, बाँके । रु १० मा खाना ’ त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराउनुभएको छ, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका छन् ।

सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना बाँड्ने गरिएको छ । पाँच सयसम्म सर्वसाधारण खाना खान पुग्छन् । “आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ”, उनले भने ।

उनन्सत्तरी वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी छन् । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आएका थिए । लामो समयसम्म व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । “छोराहरु व्यवसायमै छन्, म पुण्यको कामतिर लाग्छु भनेर यो काम शुरु गरेको हुँ”, अग्रवालले भने । उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स सञ्चालन गरिरहेका छन् ।

दुई दशकभन्दा बढी समय सङ्घमा रहेका आदेश अहिले कोषाध्यक्ष हुनुहुन्छ भने आगामी माघ ११ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उद्योगतर्फ उपाध्यक्ष उम्मेदवार बनेका छन् । त्यस्तै कान्छा छोरा निखिल पनि व्यवसायमा छन् । उनलाई नेपालगञ्जका अरू प्रतिष्ठित व्यवसायीले पनि साथ दिएका छन् ।

उनले शुरु गरेको काममा नेपालगञ्जका प्रतिष्ठित व्यवसायी सञ्जय अग्रवाल, विजय गुप्ता, रञ्जीत लखेर, सञ्जीत ज्वेलर्सका साथ रहेको छ । अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने योजना बनाएका छन् । “यो पुण्य काममा सबैको साथ पक्कै रहन्छ”, अग्रवालले भने, “बाँचुन्जेल यस कामलाई निरन्तरता दिनेछु ।” रासस