२९ कात्तिक, काठमाडाैं । हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उहाँको छोरी सुरुची श्रेष्ठ थुनामुक्त भएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा आज म्याद थपका लागि ल्याउनुपर्नेमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लेनदेनको देवानी मुद्दा भएको हुनाले ठगी मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरु थुनामुक्त भएका हुन् । काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि यही कात्तिक २४ गते उनीहरुलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको थियो ।

उनीहरु आठ दिन हिरासतमा रहेका थिए । व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको थियो । तर, लेनदेनको मुद्दामा मिलापत्र गर्ने भएपछि आज दुवैजना थुनामुक्त भएका हुन् ।रासस