सचित देवकोटा।

पृथ्वीको अन्त्यको कारण मानिदै आएको जलवायु परिवर्तनको असरको बारेमा इतिहासकै सबैभन्दा ठुलो भेला पेरिसमा जारी छ। विश्वका विभिन्न देशका प्रमुखहरु पृथ्वीलाइ जलवायु परिवर्तनको असरबाट कसरी बचाउन सकिन्छ भनि छलफल गर्दैछन्।

धेरै पटक सुनिएको जलवायु परिवर्तन र यसको असर भने निकै चरम भइसकेको छ। देशको आर्थिक अवस्था, औधोगिकरण देखि व्यक्तिको जीवनशैलीले समेत मुख्य भुमिका खेल्दै आएको जलवायु परिवर्तनलाई सामान्य मुद्धा मान्ने अवस्था अहिले छैन।

Climate-Change burning earth in hand

समय छदै जलवायु परिवर्तनको मुद्धालाइ नकेलाउने र यसको असर कम गर्न नलाग्ने हो भने पृथ्वीको भविष्यलाई नै संकट पर्ने देखिन्छ। पृथ्वीका करौडौ मानिसको यसको शिकार बन्ने छन्।

जलवायु परिवर्तनको कारण:

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।

औधोगिकरण: कार्वनडाइअक्साइ ग्याँस बढ्दै

औधोगिकरण: कार्वनडाइअक्साइ ग्याँस बढ्दै

पछिल्लो २०० वर्ष म मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ।

हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन्।

सन् १९६०को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसङ्ख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन्। मूलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने “सिङक”को कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ।

कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ। जङ्गल फँडानी र भू-क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन्।

जलवायु परिवर्तनको प्रमाण

इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (IPCC) ले जलवायु परिवर्तनको ६ प्रमाण पेश गरेको छ।

१. औधोगिकरणको सुरवात हुनभन्दा अघि भन्दा अहिले वायुमण्डलीय कार्बनडाइअक्साड र अन्य हरित गृह ग्याँस बढ्दै गएको पत्ता लागेको छ।

कार्बनडाइअक्साइडको वृद्धी

कार्बनडाइअक्साइडको वृद्धी

२. ल्याव र वायुमण्डलमा गरिएको अध्ययनले यी हरितगृह ग्याँसले साँच्चैनै ताप सोस्ने गरेको र पृथ्वीको तापक्रममा वृद्धी भएको पाइएको छ।

३. पछिल्लो शताब्दीमा पृथ्वीको तापक्रम ०.८५ डिग्रीले वृद्धी भएको छ र हिउँ पग्लने क्रम बढ्नाले समुन्द्री सतह २० सेन्टीमिटरले बढेको पाइएको छ।

४. पृथ्वीको तापक्रम बढाउन भुमिका खेल्ने सनस्पट र ज्वालामुखीको असर बारे अध्ययन गरिएको छ। तर पृथ्वीको अस्वभाविक तापक्रम वृद्धीलाई यी प्राकृतिक कारणले मात्र व्याख्या गर्न सकेको छैन।

सूर्य सतहमा हुने शक्तिशाली घटनाः कोरोनल लुप र सनस्पटको बारेमा पढ्नुस्

५. उत्तरी गोलार्धमा कम हिउँ परेको, आर्टटिकमा समुन्द्री बरफमा कमी आएको तथा सबै महादेशका हिउँनदीको प्रत्यक्ष प्रभाव अध्ययनले देखाएको छ। यो सबै प्रभाव र जलवायु परिवर्तन एक आपसमा सम्बन्धित देखिएका छन्।

६. निरन्तर विश्वको मौसम ट्र्याक भइरहेको छ। विश्वभरनै अस्वभाविक मौसम परिवर्नत भएको देखिएको । पानी र हिउँ पर्ने क्रममा नै परिवर्तन देखिएको छ। अमेरिकी नेशनल वशेनिक एण्ड एटमस्फिएरिक एडमिनिस्ट्रेसन (NOAA) को अनुसार सन् १८८० देखि २०१४ सम्म अहिलेसम्मकै सबैभन्दा गर्मी १९ वटा वर्ष परेको बताएको छ। सन् २०१५ लाई त अहिले सम्मकै सबैभन्दा गर्मी वर्ष बताइएको छ।

Arctic_sea_ice_loss_animation

भू-उपग्रह बाट खिचिएको यो तस्वीरमा १९७९ देखि ध्रुवीय क्षेत्रमा जमेको हिउँमा ह्रास आएको देखिन्छ

जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि गरेका छन्।

जलवायु परिवर्तनको असर

  • हिमनदी विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन्।
बरफ पग्लने क्रम चल्दा उत्तरी गोलार्धका हिउँमा बस्ने प्राणीहरु खतरामा

बरफ पग्लने क्रम चल्दा उत्तरी गोलार्धका हिउँमा बस्ने प्राणीहरु खतरामा

  • साविकको समय भन्दा पहिले विरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ। यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ।
  • तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तिव्रता उन्मुख छ। यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको पनि छ।
  • तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अबस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन्।

कसरी कम गर्न सकिन्छ

नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो।

हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ। कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो।

जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ। यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ। प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसैगरी, सडकको दायाँ-बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ।

यो पनि पढ्नुस्।

सुर्यकै कारण आधुनिक मानव सभ्यता खतरामा: इतिहास र तयारी

मंगल ग्रहको वायुमण्डलबारे नयाँ तथ्य: पृथ्वी पनि मंगल झै हुने सम्भावना उच्च