काठमाडौं, १६बैशाख । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र पाइप बिछ्याउन बाँकी छ ।

कूल ७० किलोमिटरमध्ये ६५ किलोमिटर क्षेत्रमा पाइपलाइन निर्माणको काम सम्पन्न भएको छ । निकुञ्ज क्षेत्रभित्र पाइपलाइन निर्माणका लागि रुख कटान गर्नुपर्ने भएकाले ५ हजार रुख काट्ने काम चलिरहेको पेट्रोलियम पाइपलाईन विस्तार आयोजना सिमराका इन्जिनियर शरद पौडेलले बताए ।

पाइपलाईन निर्माणको काम सकेर आगामी असारसम्म पाइपलाइनकै माध्यामबाट पेट्रोलियम पदार्थ ल्याइने योजना रहेको इन्जिनियर पौडेलले बताए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि पाइपलाइन निर्माणले गति लिएको थियो ।

भारतीय आयल निगमको २ अर्ब ७५ करोड लगानीमा पेट्रोलियम पाइपलाइन निर्माण भइरहेको हो । पाइपलाइन सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्रिने छ । पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्ज आयल निगमको डिपोमा तीन हजार ९ सय किलोलिटर क्षमता भएको दुई वटा तथा चार हजार १ सय किलो लिटर क्षमता भएको दुई गरी चार ट्याङ्करको मर्मत कार्य चलिरहेको छ ।

पाइपलाइन सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने सवारी जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता नियन्त्रणमा सहयोग पुग्नेछ ।