२१ साउन, नुवाकोट । विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् ।

आज बिहान १० बजे ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते समिरलाई इद्रीले शरीरमा पेट्रोल छर्की पेट, दाहिने हात र दाहिने कोखामा चक्कु प्रहार गरी घाइते बनाएको थियो । घाइते समिरलाई स्थानीय मेडिकलमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ग्राण्डी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने इद्रीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । रासस