२७ असोज, एजेन्सी । अस्पतालमा अप्रेसनको क्रममा डाक्टरले विरामीको पेटमा रुमाल, कैँची छोडेको खबर तपाईले पढ्नुभएको होला । तर यहाँ एउटा अचम्मको खबर बाहिर आएको छ । डाक्टरले एक युवकलाई पेट दुख्दा गर्भवती महिलालाई गर्ने परीक्षण गर्न भन्दै प्रेस्किप्सन लेखेका छन् । यो घटना भारतको झारखण्डको चतरा जिल्लाको हो । अस्पतालमा डाक्टरले दुई पुरुषलाई एएनसी टेस्ट गराउन भन्दै पूर्जी थमाएका छन् ।

खासमा २२ वर्षीय गोपाल गंझु र छिमेकी गाउँ बस्ने सुधु गंझुलाई १ अक्टोबरमा अचानक पेट दुख्यो । दुबैले जिल्लाको सरकारी अस्पतालमा गए, उपचारको लागि डाक्टर थिए मुकेश । दुबैले परीक्षणको पूर्जीमा केही टेस्टहरु गर्नको लागि भनिएको थियो । जब दुईजना युवकहरु पूर्जी लिएर प्याथोलोजी ल्याबमा पुगे त्यहाँका एक डाक्टरले गर्भवती महिलाहरुलाई गर्ने टेस्ट लेखेको पूर्जी देखेर चकित परे । ल्याबमा भएका डाक्टरले अरु सबै जाँच गरिदिए तर एएनसी टेस्ट भने गर्न मानेनन् । दुई बिरामी युवक घर फर्के ।

गाउँ आएपछि उनीहरुलाई अस्पतालमा भएको अवस्था एककान दुईकान मैदान बन्दै सबैतिर छरियो । अहिले यो खबर भारतीय मिडियामा चर्चामा छ । घटना बाहिर आइसकेपछि डाक्टर मुकेशले आफूले यस्तो नगरेको दाबी गरेका छन् । आफ्नो बदनाम गराउनको लागि पूर्जीमा कसैले माथिबाट लेखिदिएको उनको आरोप छ । यसै सन्दर्भमा अस्पतालका सीएस डाक्टर अरुण कुमारले घटनाको बारेमा अनुसन्धान गरेर, दोषी ठहरिए कारवाही गरिने प्रतिबद्धता जनाएका छन् ।