२६ कात्तिक, पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवर्धन गर्ने कार्य भइरहेको छ । नेपाली महिला समाज पोर्चुगलको अगुवाइमा राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फमेसियाले इन्तिदेन्तको लिडिल हलमा विभिन्न देशका बहुसांस्कृतिक प्रदर्शनीमा नेपाली संस्कृति र नेपाल भ्रमण वर्षको प्रचारप्रसार र प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा नेपाली बालबच्चाहरु नेपालको संस्कृति र पर्यटन झल्कने नृत्य प्रस्तुत गरेका थिए भने नेपाली महिलाले आ–आफ्नो वेशभूषामा मादल बजाएर लोकसंस्कृति झल्काउने खालको प्रस्तुति गरेका थिए । ‘नेपाली महिलाहरुका तर्फबाट हामी स्थानीय पोर्चुगिस समुदायसँग घुलमिल हुँदै हाम्रो देशको संस्कृति चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिरहेका छौँ’, महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खरालले भनिन् ।

बहुसंस्कृतिको प्रवद्र्धन गर्ने र एकापसमा अनुभव र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले प्रचारात्मक कार्यक्रमहरु आयोजना गरिएको बताइएको छ । पोर्चुगललगायत २६ देशका नागरिकले सहभागिता जनाएको कार्यक्रममा आ–आफ्नो देशको कला, संस्कृति, वेशभुषा, रहनसहनका बारेमा प्रचारप्रसार गरिएको थियो । रासस