१८ मंसिर, काठमाडौं । अपाङ्गता भएका एक बालकको विद्यालय भर्ना हुने चाहना प्रधानाध्यापकका कारण पूरा हुन नसकेको आरोप लगाइएको छ । काठमाडौँमै यसरी बालक स्कूल जानबाट वञ्चित भएका छन् ।

सरकारले सबैका लागि शिक्षा भन्ने नाराका साथ भर्ना अभियानसमेत चलाउँदै आएको छ । कोही पनि स्कूल जानबाट वञ्चित नहोस् भनेर सरकारले विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । सामान्य बालबालिकाभन्दा शारीरिक तथा मानसिकरुपमा प्रभावितका लागि त सरकारले विशेष व्यवस्था नै गरेको छ । तर पनि बालबालिका विभिन्न कारणले पढ्नबाट वञ्चित छन् ।

राजधानीको भीमसेनगोलाका बालक रिसन मानन्धर त्यही पीडितमध्येका एक हुन् । राजधानीको भीमसेनगोलास्थित बाल विकास केन्द्रका प्रधानाध्यापक कै कारण उनले पढ्न नपाएको आमा रेनुकाले दुखेसो गरेकी हुन् । सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका बालबालिकाका लागि आफ्नो दायित्व तथा कर्तव्य बोध गरी केही विद्यालयको निर्माण गरेको छ । त्यसैमध्ये एक हो निर्मल बालविकास केन्द्र । केन्द्रको सम्पूर्ण दायित्व नेपाल सरकारले लिएको छ ।

शारीरिक तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाकोे जीवन निर्वाह गर्न सजिलो होस् भनेर उनीहरुलाई यहाँ राखिएको हो । रेनुकाका सात वर्षीय छोरा रिसनको यो चाहना भने टुटेको छ । रेनुका गृहणी हुन् भने बुबा सञ्जय प्राइभेट कम्पनीका गाडी चालक हुन् । उनीहरु डेरामा बस्छन् । सानैदेखि शारीरिकसँगै बौद्धिक अपाङ्गताले रिसनको उपचारमा रेनुकाले धेरै खर्च गरे । उनले आफैँ थेरापी सिकेर बच्चालाई थेरापी गराएपछि पनि सफल हुन सकेन ।

संयोगवस उक्त बालविकास केन्द्रमा विदेशी दाताले अनुभवका आधारमा थेरापिष्टका रुपमा रेनुकालाई करारमा नियुक्ती दियो । उनले आफूसँगै छोरालाई पनि त्यही बालविकास केन्द्रमा लगे । छोरालाई भर्ना गर्न त्यहाँकी प्रधानाध्यापक ज्योति खनालसँग कुरा राखे । शुरुमा भर्ना गरेको बताए पनि राज्यले दिने सेवासुविधा पाउने समयमा भने प्रधानाध्यापक खनालले रिसनलाई भर्ना नगरेको खुलेको छ ।

रेनुकाले सम्झँदै भनिन्, ‘प्रधानाध्यापकले तपाईको छोरा बौद्धिक अपाङ्गता होइन, यो रिपोर्टलाई म मान्दिन, मैले भनेको डाक्टरसँग जँचाएर रिपोर्ट ल्याउनुपर्छ भन्नुभयो ।’ त्यसपछि उनलाई छाँगाबाट खसेजस्तो भयो । तै पनि उनले भनेकै डाक्टरकामा देखाएर ल्याएपछि प्रअ खनालले पुनः अर्को बाहना झिकेर बालक शारीरिक अपाङ्गता भएका छन् यो स्कूलमा बौद्धिक अपाङ्गताका लागि मात्रै हो भनेर जवाफ दिएको रेनुकाले दुखेसो गरे ।

त्यसपछि स्कूलबाटै निकालेको रेनुकाले बताए । बौद्धिक अपाङ्गतासँग सम्बन्धित सङ्संस्थाको चिठी लिएर आउँदासमेत निकालेको उहाँले बताउनुभयो । प्रअ खनालकै कारण राज्यले दिएको सेवा सुविधाबाट वञ्चित हुनुपरेको रेनुकाको आरोप छ ।

प्रअ खनालले रासससँग कुरा गर्दै रिसन बौद्धिक नभई शारीरिक अपाङ्गता भएका बालक भएको बताए । उनले उक्त केन्द्रमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको मात्र पढाइ हुने भएकाले भर्ना नगरेको जानकारी दिए । रिसन सुतिरहने र उठ्न नसक्ने अवस्थाका बालक भएकाले पनि भर्ना नगरेको उनले बताइन् ।

उनले भने, ‘यहाँ हिँड्नसक्ने बालबालिका तर बौद्धिक अपाङ्गता भएकालाई मात्र भर्ना गरिन्छ, रेनुकाले पुनः जागीरमा लगाउन भन्दै रिसले आरोप लगाएको हो, उहाँ करारमा हुनुहुन्थ्यो म्याद सकिएपछि जागीरबाट हटाइएको र त्यसपछि बालक भर्ना नगरेको बहानामा मलाई आरोप लगाइएको हो ।’ रासस