५ चैत, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा धरौटीमा रिहा भएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयले तिरुवालाई ५ सय रुपैयाँ धरौटीमा रिहा गरेको हो । रिहाईपछि पत्रकार जन्मदेव जैशीले तिरुवाको जिम्मा लिएका छन् ।

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन स्मृति प्रतिष्ठानको कार्यक्रममा तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर जुत्ताले प्रचण्डलाई लागेन ।

जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका थिए ।