२७ बैशाख, काठमाडौ ।

मतदानको चार दिनअघि प्रमुख दलका शिर्ष नेताले निर्वाचन आचारसंहिता पुर्णरुपमा पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन ।

स्थानीय तहको निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा प्रमुख दलका शिर्ष नेताहरुले हस्ताक्षर गरेका हुन् । निर्वाचन तयारी, मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिता लगायतका बिषयमा छलफल गर्न आयोगले आज प्रमुख दलका शिर्ष नेताहरुलाई बोलाएको थियो ।

छलफलमा आयोगका पदाधिकारीले बैशाख ३१ को पहिलो चरणको निर्वाचन र मत गणनाको बेला राजनितिक दलका नेता तथा कार्यकर्तालाई संयमता अपनाउन आग्रह गरेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आचारसंहिता उलंघन नगरेको दावी गरे । प्रतिपक्षि दलले सरकार निर्वाचन आचारसंहिता गर्दै अघि बढेको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले त्यसको खण्डन गरेका हुन् ।

प्रचण्डले सरकार आयोगको स्वीकृती लिएरै अघि बढीरहेको बताए । छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पुरा नगरेको बताउँदै दोलखा घट्नाबारे आयोग र दलहरुको ध्यानाकर्षण गराएका थिए ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ माओवादी केन्द्रले आतंक मच्याएको आरोप लगाए । गोरखा घट्नाप्रति लक्षित गर्दै डा.भट्टराईले निर्वाचन प्रचार प्रचारका बेला सत्तारुढ पार्टी आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै आक्रोश पोखे ।