२९ भदौ, महोत्तरी ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनि दिएका छन्। महोत्तरीको बलवा नगरपालिकामा आयोजित चुनावि सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले गुन्डागर्दी र दादागिरीको बलमा चुनाव जित्ने दुष्प्रयास नगर्न चेतावनी दिए ।

‘मलाई यहाँका जनताले विगतका चुनावमा बुथ कब्जा गरेर, नक्कली मतपत्र छापेर र मतदातालाई धम्काएर चुनाव जित्ने गरेको गुनासो गरेका छन्, प्रचण्डले भने, तर अब यस्तो कुरा सह्य हुदैन । हामी संघीय लोकतान्त्रीक गणतन्त्रमा छौ, जनताको मतलाई जबर्जस्ती आफ्नो पक्षमा पार्ने कुनै पनि गतिविधिलाई छुट दिने छैनौं ।

अध्यक्ष प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न र कुनै पनि हिंसक गतिविधि हुन नदिन आवश्यक सुरक्षा प्रवन्ध मिलाउनको लागि गृहमन्त्रीलाई निर्देशन दिएको बताए ।

उनले भने, ‘तपाइँहरू ढुक्कसँग मतदान गर्न जानुस, बुथ कब्जा गर्ने हिम्मत कसैले गर्दैन, त्यस्तो दुस्साहस कसैले गरे तत्काल गिरप्तार गरेर कानुनी कारबाही गरिने छ ।’ प्रचण्डले जनतासामू जान डराउने मधेस बिरोधी तत्वहरूले जनतामा आतंक फैलाउन चाहे पनि त्यो सफल नहुने बताए ।

सिङ्गो मधेश माओवादीमय भएको देखेर कतिपय शक्तिहरू अत्तालिएको बताउदै प्रचण्डले भने, ‘माओवादीका कारण मधेशमा चुनाव सम्भव हुन गएको, पहाडीया र मधेसी अतिवाद परास्त भएका छन्।, नक्कलीहरूको भ्रममा नपर्नुस् ढुक्कसँग माओवादी केन्द्रलाई मतदान गर्नुस्, यसबाट मात्रै मधेसी जनताको मुक्ति र अधिकार सम्भव छ ।’