६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संचालनको कार्यशैलीप्रति असन्तुष्टी जनाउनुभएको छ ।

पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट पार्टी संचालन गरिरहेको आरोप लगाउनुभएको हो । ‘कम्युनिष्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेबारी हुन्थ्यो’ प्रचण्डले भन्नुभयो, आजकाल चाहिँ उल्टिएको छ, व्यक्तिगत निर्णय हुन्छ, जिम्मेवारी चाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ ।’

कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म समाज र जनताका निम्ति त्याग र बलिदानको कुरा गर्ने तर सत्तामा पुगेपछि सबै कुरा विर्सिँदै जाने भन्दै उहाँले सरकारको कामको पनि आलोचना गर्नुभयो । ‘बुर्जुवाहरुले कम्युनिष्टहरुलाई लडेर कुनै हालतमा हराउन सक्दैनन्, प्रचण्डले भन्नुभयो, तर कम्युनिष्टहरु जव सत्तामा पुग्छन् उनीहरुलाई पनि बुर्जुवाकरण गरिदिन्छन् र एउटा गोली पनि खर्च नगरी सत्ता पल्टाइदिन्छन् ।’

अब पनि चनाखो नहुने र आफूलाई सुधार गरेर अघि नबढ्ने हो भने जनताले लखेट्ने उहाँको तर्क छ । ‘हिजो राजा महाराजा लखेटेका जनता हुन्, प्रचण्डले भन्नुभयो, कम्युनिष्टहरु पनि राजा महाराजा जस्तो हुन खोजे भने बाँकी राख्दैनन, हामीकहाँ त्यस्तै लक्षण देखिँदैछ ।’ हिजो आफूहरु निकै अनुशासित भएकैले पार्टी एकता गरी यो अवस्थासम्म आइपुगेको भन्दै प्रचण्डले पार्टीभित्र अराजकता र अनुशासनहिनता बढ्दै गएको बताउनुभयो । जसले जे मन लाग्यो त्यहि बोल्नै प्रवृत्ति बढ्दै गएको भन्दै प्रचण्डले यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।