२० भदौ, सिरहा ।

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन प्रायः सबै शीर्ष नेताहरु विशेष कार्यक्रम र सभा गर्दैछन् । स्थानीय निकायको चुनाव अन्तर्गत प्रदेश नम्बर दुईको चुनावमा पहिलो पार्टी बन्न प्रतिष्ठाको बिषय बनाएका दलहरु जोडतोडले प्रचारमा जुटेका छन् ।

यतिबेला ठूलादेखि साना सबै दलका शीर्ष नेताहरु दुई नम्बर प्रदेशको आठ जिल्लामा केन्द्रीत छन् । यसैक्रममा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज ११ वटा सभालाई सम्बोधन गर्दैछन् ।

यादव आज दिनभर सिरहाको विभिन्न स्थानमा आयोजित चुनावी सभामा सहभागी हुँदैछन् । मधेश आन्दोलनको उद्गम स्थल र मधेशको प्रथम शहीद रमेश महतोको गृहजिल्ला भएकोले यादवले चुनावको अन्तिम दिन सिरहालाई रोजेको फोरम नेपाल सिरहाका अध्यक्ष बादल प्रसाद यादवले जानकारी दिए ।

अध्यक्ष यादवको कार्यतालिका अनुसार बिहान ९ बजे सिरहाको बन्दीपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुने यादवको सचिवालयले जनाएको छ ।

बन्दीपुरको सभालाई सम्बोधन गर्दै यादवले कर्जनहा गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्नेछन् । त्यस लगत्तै उनले बरथवा गाउँपालिका, विष्णुपुर गाउँपालिकामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनेछन् ।

दिउँसो १ बजे औरही गाउँपालिकामा फोरम नेपाल सिरहाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर बरियारपट्टी गाउँपालिकाको कार्यक्रममा सहभागी हुनेछन् । तीन बजे लहान नगरपालिकामा आयोजित सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नेछन् ।

महेशपुर पतायर गाउँपालिका हुँदै मिर्चैया नगरपालिकाको चुनावी कार्यक्रममा सहभागी हुनेछन् । अन्त्यमा साँझ ६ बजे कल्याणपुर नगरपालिकामा आयोजना गरिएको चुनावी सभालाई अध्यक्ष यादवले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।