४ भदौ, काठमाडौं– पहिलोपटक प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीच पहिलोपटक भिडियो कन्फ्रेन्स भएको छ ।

प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र ७ वटै प्रदेशसभाका उपसभामुखहरुबीच अनुभव आदान प्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो कन्फ्रेन्स आयोजना गरिएको हो । भिडियो कन्फ्रेन्समा प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले सिंहदरवारस्थित आ–आफ्नै कार्यकक्षबाट सहभागी भएका थिए ।

प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेल विराटनगरबाट, प्रदेश नम्बर २ की उपसभामुख उपमा देव जनकपुरबाट, प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङ हेटौंडाबाट, गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्मा पोखराबाट, प्रदेश नम्बर ५ की उपसभामुख कृष्णी थारु बुटवलबाट, कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्ट सुर्खेतबाट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी धनगढीबाट सहभागी भएका थिए ।

प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीचको अनुभव र सरोकार साझा देखिएको छ । उनीहरुले संविधानले प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने भनिए पनि नियमावलीमा फरक अर्थ लगाएको, नियमावली संशोधन भए पनि सहजता नभएको धारणा राखेका थिए । सभामुख र उपसभामुखबीच कार्यसञ्चालनमा समन्वय वृद्धि हुँदै गए पनि कतिपय विषयमा सहजता हुन नसकेको अनुभव राखेका थिए ।