काठमाडाैं, २९ भदाै । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे आजको दोस्रो बैठक स्थगन भएको छ ।

फाेटाे: रासस

काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको ‘जागरण अभियान’का क्रममा बाँकेको खजुरामा भदौ २६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले काङ्ग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी हात भाँचिदिएको भन्दै काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । आजको प्रतिनिधिसभा पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगन गरेका थिए। स्थगन गरिएको बैठक करीब दुई घण्टापछि शुरु भएको थियो । सभामुख महराले दोस्रो बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। बाँके घटनाका दोषीको किटान गरी दिएको उजुरी दर्ता नभएको, घटनाका दोषीलाई गृह प्रशासन नै बचाउन लागेको आरोप काङ्ग्रेस सांसदहरुले लगाएका थिए । दोस्रो बैठक पनि चल्न नसकेपछि सभामुख महराले भदौ ३० गते शनिबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगन गरे ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्दप्रसाद पाण्डेले योजनाबद्ध रूपमा बाँके घटना गराइएको तथा किटानी जाहेरी दर्ता गर्न पनि अस्वीकार गरिएको भन्दै तत्काल जाहेरी दर्ता गराउन माग गरेका थिए। उनले यस्ता घटना र घटनाप्रति सरकारले देखाएको कार्यशैली दोहोरिँदै जादा राजनीतिक दलहरू राज्य आंतकको शिकार बन्दै जानुपर्ने अवस्था सिर्जना हुने भन्दै वास्तविक दोषीलाई कारबाहीको प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने बताएका थिए। गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाका बारेमा दुवै सदनमा जवाफ दिएका थिए।त्यसपछि दुवै सदनका बैठक भाेलीसम्म स्थगित भएकाे हाे ।