१९ मंसिर, काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने सम्भावित भवन र ठाउँ छनोट गरेको छ ।
प्रदेशसभा बैठक बस्ने भवन छनोट गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा सरकारले सातै क्षेत्रमा सम्भावित स्थान र भवन छनोट गरेको हो । सरकारको यो छनोट अन्तिम नभएर प्रारम्भिक हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावलगत्तै प्रदेशसभाको पहिलो बैठक बस्ने स्थान, भवन, प्रदेश प्रमुख मनोयन र कर्मचारी व्यवस्थापन गर्ने तयारी गरेको जनाए । आजको नागरिकमा खबर छ ।

सहरी विकास मन्त्रालयका सहसचिव पौडेलले बुझाएको रिपोर्टमा १ नम्बर प्रदेशमा प्रदेशसभाको पहिलो बैठकका लागि विराटनगर र धनकुटामध्ये एक उपयुक्त हुने सुझाएको छ । सरकारले भने विराटनगरस्थित मोरङ सिँचाइ कार्यालयको भवनमा प्रदेशसभाको पहिलो बैठक बोलाउने निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । पौडेल कार्यदलले प्रदेशसभा बैठकस्थल छनोट गर्न विराटनगर, तरहरा र धनकुटाको स्थलगत अध्ययन गरेको थियो । कार्यदलले विराटनगरस्थित मोरङ सिँचाइ कार्यालयको भवन बैठकका लागि सबैभन्दा उपयुक्त भएको रिपोर्टमा उल्लेख गरेको स्रोतको दाबी छ ।

यसैगरी सरकारले दुई नम्बर प्रदेशमा जनकपुर चुरोट कारखानाको भवनलाई प्रदेशसभाको पहिलो बैठक स्थल तोक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । पौडेल कार्यदलले वीरगञ्जस्थित वीरगञ्ज चिनी कारखानाको भवन या नारायणी सिँचाइ कार्यालयको भवनमध्ये एक छान्न सुझाएको छ । दुई नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर बनाउने कि वीरगञ्ज भन्नेमा विवाद छ ।

यसैगरी तीन नम्बर प्रदेशसभा बैठकका लागि ललितपुरस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानको भवन या सिँचाइ कार्यालयको भवनमध्ये एउटा तोक्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पौडल कार्यदलले भने भक्तपुरस्थित कृषि विकास कार्यालय तालिम भवन÷शिक्षा विभागको कोलनी या धुलिखेलमध्ये एक ठाउँ प्रदेशसभा बैठकका लागि उपयुक्त हुने सुझाव दिएको छ ।

यसैगरी ४ नम्बर प्रदेशसभा बैठक पोखरामा बोलाउने तयारी सरकारले गरेको छ । ४ नम्बर प्रदेशको राजधानी कहाँ बनाउने भन्नेबारे विवाद छैन । सरकारले पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन या विषयगत क्षेत्रीय कार्यालयका भवनमा प्रदेशसभाको पहिलो बैठक बोलाउने तयारी गरेको स्रोतको भनाइ छ ।

यसैगरी पाच नम्बर प्रदेशसभाको पहिलो बैठक घोराहीमा बोलाउने तयारी छ । अध्ययन कार्यदलले भने लमही (बहुद्देश्यीय सरकारी भवन) या बुटवलमा प्रदेशसभाको पहिलो बैठक बोलाउन उपयुक्त हुने सुझाएको छ ।

यसैगरी ६ नम्बर प्रदेशसभाको पहिलो बैठक सुर्खेतस्थित क्षेत्रीय प्रशासन कार्यालय या क्षेत्रीय विषयगत कार्यालयमा बोलाउने तयारी सरकारले गरेको छ ।

सात नम्बर प्रदेशसभाको बैठक धनगढीमा बोलाउने तयारी छ । अध्ययन कार्यदलले धनगढीबाहेक डोटी पनि प्रदेशसभाको पहिलो बैठकका लागि उपयुक्त भएको देखाएको छ ।

प्रधानमन्त्री कार्यलयका प्रवक्ता पन्थीले प्रदेशसभाको पहिलो बैठक बोलाउन अहिले उपयुक्त भवनको अध्ययन भइरहेको जनाए । उनले भने, ‘प्रदेशसभाको पहिलो बैठक बोलाउन उपयुक्त भवन र स्थल अध्ययन गर्न प्रधानमन्त्री कार्यालयले गठन गरेको टोलीले दिएको रिपोर्टका आधारमा छनोट गर्ने तयारी भएको छ ।’ अध्ययन टोलीले सम्भावित स्थानमा गई अध्ययन गरेको थियो ।

संविधानमा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको २० दिनभित्र प्रदेशसभा बैठक बोलाउनुपर्ने बाध्यताम्मक व्यवस्था छ । संविधानअनुसार प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठकको आह्वान गर्नुपर्छ । सरकारले प्रदेशसभाको पहिलो बैठक बोलाउने स्थल तोक्ने र प्रदेश प्रमुख मनोनयन सँगसँगै गर्ने तयारी गरेको छ ।