२३ साउन, काठमाडौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको राजधानी काठमाडौंमा कुनै हालतमा नल्याइने बताएका छन् ।

काठमाडौंमा बिहीबार विभिन्न संचारमाध्यामका पत्रकारहरुसँग कुरा गर्दै मुख्य मन्त्री पौडेलले काठमाडौंकै जनघनत्व व्यवस्थापन गर्न नसकिरहेका बेला प्रदेशको राजधानी ल्याएर थप अस्तव्यस्त गर्न नहुने बताए । प्रदेशको राजधानी घर पायक (हेटौंडा) राख्न खोजिएकोबारे पत्रकारहरुको जिज्ञासामा बोल्दै मुख्य मन्त्री पौडेलले भने, ‘मेरो घर हेटौंडामा भएपनि प्रदेशको स्थायी राजधानी हेटौंडा हुनुपर्छ भनेर मैले भनेको छैन, मैले गरेर हुने पनि होइन’, पौडेलले भने, तर काठमाडौं चाहिँ कुनै हालतमा हुँदैन, त्यसका लागि म अन्तिमसम्म लड्न पनि तयार छु, यो मेरो निर्णय हो ।’


सिंहदरबारको छायाँमा प्रदेशको राजधानी हुन नसक्ने भन्दै मुख्य मन्त्री पौडेलले २०/२५ वर्षदेखि जेका लागि लडियो त्यसैको विरुद्धमा जान नसकिने बताए । ‘हामी २०/२५ वर्षदेखि राजधानीलाई कसरी व्यवस्थित गर्ने ? यहाँको जनघनत्वलाई कसरी बाहिर लैजाने ? भन्दै आयौं, पौडेलले भने, अहिले आएर फेरि प्रदेशको राजधानी ल्याएर काठमाडौंमै राख्याै‌ं भने त्यो मिल्दैन, मैले २० वर्षको इतिहासमा जे गरेँ त्यो खेर जान्छ ।’

बरु नुवाकोट वा रामेछाप लैजान पनि तयार रहेको उनको भनाई थियो । सकभर सर्वसम्मत निर्णय गर्ने प्रयास गरेकाले केही ढिला भएको भन्दै मुख्यमन्त्री पौडेले प्रदेशको नाम र राजधानी एकै दिन टुंगो लाग्ने बताए ।