१३ फागुन, काठमाडौ । एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक गतिरोध चिर्न प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने भनी प्रमुख राजनीतिक दलहरुले अघि सारेको प्रस्तावलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी हुने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजिन प्रवक्ता-सञ्चारकर्मी नियमित भेटको अवसरमा प्रवक्ता सापकोटाले देशलाई निकास दिन अगाडि सारिएका विभिन्न विकल्पमध्ये प्रधानन्यायाधीशको नेतृत्व नै अहिलेको अवस्थामा उत्तम विकल्प भएको बताए ।
‘विभिन्न विकल्पहरू अगाडि सार्दासमेत केही राजनीतिक दलहरू त्यसमा सहमत नभएपछि प्रधानन्यायाधीशको विकल्प अगाडि सारिएको हो, यो प्रस्तावको विरोध गर्नु राजनीतिक बेइमानी हो’, प्रवक्ता सापकोटाले भने ।
विशिष्ट राजनीतिक अवस्थमा संविधान र कानुनको सहायता लिएर राजनीतिक निकास ननिस्कने बताउँदै प्रवक्ता सापकोटाले यस्तो अवस्थामा राजनीतिक निर्णय नै मान्य हुने उल्लेख गरे ।
राजनीतिक पार्टीहरू एक आपसमा मिल्न नसकेका कारण संविधानसभाको निर्वाचन गर्ने प्रयोजनका लागि मात्रै प्रधानन्यायाधीशको विकल्प अगाडि सारिएको तर्क गर्दै प्रवक्ता सापकोटाले यो प्रस्तावले राजनीतिक दलहरू असफल भएको भन्ने सन्देश जाँदैन भने ।
संविधानसभाको निर्वाचन पछाडि स्वतः दलहरूकै नेतृत्वमा राजनीतिक प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो।
विभिन्न कानुनी र संवैधानिक व्यवस्था मिलाउनुपर्ने भएकाले दलहरूको छलफल लम्बिएको बताउँदै प्रवक्ता सापकोटाले भोलि साँझसम्म समाधान निस्कनेमा आफ्नो पार्टी आशावादी रहेको स्पष्ट पारे ।
विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिमै राजनीतिक निकासको प्रक्रिया अगाडि बढाइने भएकाले विरोध गर्नुको कुनै अर्थ नरहने उनको भनाइ थियो।
सर्वोच्च अदालतमा परेको मुद्दाको छिनोफानो नभएर पनि केही दिन छलफल लम्बिएको उनले बताए ।
आगामी जेठको तेस्रो सातासम्म संविधानसभाको नयाँ निर्वाचन गर्न सकिने सम्भावना कायम नै रहेको र दलहरूबीच सहमति हुने बित्तिकै मुलुक निर्वाचनको प्रक्रियामा अगाडि बढ्ने उनको भनाइ छ।
आफ्नो पार्टीले हेटौँडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले अगाडि सारेको आर्थिक उन्नति र समृद्धिको प्रस्तावलाई कार्यक्रम बनाएर लागू गर्ने तयारी गरिरहेको र उत्पादन र निर्माण कम्पनी बनाउन अन्तिम तयारी भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए । रासस